संरचनात्मक हिंसा, गरिबी र शान्तिको अवधारणामा गाल्टुङ, गान्धी र बी.पी. कोइराला
जोन गाल्टुङ जो एक नर्वेली समाजशास्त्री र शान्ति र द्वन्द्व अध्ययनको विषयका संस्थापक थिए। उनी आफ्नो विशेषज्ञता प्रदान गर्न सन् २००६, २०१२, २०१३ गरी धेरै पटक नेपाल आएका थिए, विशेष गरी Positive Peace vs. Negative Peace र द्वन्द्व रूपान्तरण जस्ता आफ्ना अवधारणाहरूलाई विद्रोहपछिको संक्रमणमा लागू गर्दै, नेपालमा लोकतन्त्र नभएर दलतन्त्र भएको आलोचना र पुनर्स्थापनात्मक न्यायको वकालत गर्दै गाल्टुङ नेपालको शान्ति प्रक्रियामा सक्रिय रूपमा संलग्न थिए । उनी १९५९ मा शान्ति अनुसन्धान संस्थान, ओस्लोका संस्थापक थिए र १९७० सम्म यसको पहिलो निर्देशक थिए ।
उनैले १९६४ मा स्थापना गरेको शान्ति सम्बन्धी अनुसन्धान जर्नलमा प्रकाशित उनको प्रसिद्ध लेख “Violence, Peace, and Peace Research” संसारमा शान्ति सम्बन्धी अध्ययनको कोशेढुंगा मानिन्छ । यस लेखमा गाल्टुङले हिंसा र शान्तिको परम्परागत बुझाइ माथी फरक मत प्रकट गरेका छन् । परम्परागत बुझाई अनुसार हिंसालाई युद्ध, हत्या वा शारीरिक आक्रमणसँग मात्र जोडेर हेर्ने गरिन्छ, तर गाल्टुङले यस अवधारणालाई फराकिलो बनाउने जमर्को गर्दै सामाजिक, आर्थिक र राजनीतिक संरचना र असमानताबाट उत्पन्न पीडालाई पनि हिंसाको रूपमा व्याख्या गरेका छन् । उनले शान्तिलाई केवल युद्धको अनुपस्थितिसम्म सीमित नगरी सामाजिक न्याय, समानता र गरिबी निवारणसँग जोडे ।
गाल्टुङको हिंसाको अवधारणा अनुसार हिंसा तब हुन्छ जब कुनै व्यक्तिले आफु बाँच्न सक्ने सम्भावित जीवनस्तर (Potential Living Standard) र वास्तविक जीवनस्तर (Actual Living Standard) बीच अनावश्यक खाडल भोग्नुपर्छ । उपलब्ध ज्ञान, स्रोत र प्रविधिको प्रयोग भएमा राम्रो जीवन बाँच्न सक्ने तर सामाजिक संरचनाका कारण त्यो सम्भव नहुने अवस्था छ भने त्यहाँ हिंसा रहन्छ ।
यसै आधारमा गाल्टुङले हिंसालाई मुख्यत: दुई प्रकारमा वर्गीकरण गरेका छन्; प्रत्यक्ष वा व्यक्तिगत हिंसा र अप्रत्यक्ष वा संरचनात्मक हिंसा जसमध्ये व्यक्तिगत हिंसा भनेको प्रत्यक्ष रूपमा देखिने हिंसा हो, जहाँ अपराधी र पीडित स्पष्ट चिनिन्छन् । युद्ध, हत्या, बलात्कार, यातना आदि यसका उदाहरण हुन् ।
संरचनात्मक हिंसा सामाजिक, आर्थिक र राजनीतिक संरचनाभित्र गहिरो रूपमा गाडिएको हुन्छ। यहाँ कुनै एक व्यक्ति प्रत्यक्ष रूपमा दोषी देखिँदैन, तर समाज भित्रै व्यक्तिगत रूपमा वा सामुहिक रुपमा गरिबी, भोकमरी, अशिक्षा, रोग र असमानता जस्ता पीडाहरू निरन्तर भइरहेका हुन्छन् । गाल्टुङका अनुसार यसरी भोगिने गरिबी नै संरचनात्मक हिंसाको सबैभन्दा स्पष्ट रूप हो ।
यस सिद्धान्तले हिंसालाई घटनामात्र नभई प्रक्रियाको रूपमा बुझ्न सजिलो बनाएको छ, जहाँ सामाजिक संस्था, नीति र राज्य तथा समाजको शक्ति संरचनाहरूले दीर्घकालीन प्रभाव पार्छन्। शान्ति अध्ययनको विषयवस्तु युद्ध-केन्द्रित मात्र नभई विकास, समानता र मानवीय क्षमताको प्रश्नतर्फ उन्मुख हुनुपर्छ । साथै, सामाजिक संरचना, साँस्कृतिक व्यवस्था र राजनीतिले असमानताको सामान्यीकरण गराउने र नैतिक रूपमा स्वीकार्य बनाउने भन्ने कुरा गर्दै यस अध्ययनलाई समाजशास्त्रसँग समेत जोडीएको छ । गाल्टुङले गरिबीलाई प्राकृतिक अवस्था नभई मानवद्वारा निर्मित सामाजिक संरचनाको परिणाम मानेका हुनाले उनि युद्धले मानिसलाई एक पटक मात्र मार्न सक्ने, तर गरिबीले पुस्तौँसम्म मानिसलाई कमजोर, अशिक्षित र रोगी बनाइरहने हुनाले संरचनात्मक हिंसाले, प्रत्यक्ष हिंसाभन्दा धेरै मानिसलाई असर गर्ने कुरा स्पस्ट पार्छन् ।
गाल्टुङले हिंसालाई जस्तै शान्तिलाई पनि सकारात्मक शान्ति (Positive Peace) र नकारात्मक शान्ति (Negative Peace) भनी वर्गीकरण गरेका छन् । सकारात्मक शान्ति त स्वत:स्पष्ट छ । तर नकारात्मक शान्ति त्यस्तो अवस्था हो जहाँ प्रत्यक्ष हिंसाको उपस्थिति हुँदैन तर संरचनात्मक हिंसा भने विद्यमान रहन्छ । समाजमा गरिबी र अन्याय व्याप्त छन् भने युद्ध नभएको, हत्या वा बलात्कार जस्ता गतिविधि नभएको अवस्था पनि नकारात्मक शान्ति हुन सक्छन ।
त्यस्तै सकारात्मक शान्ति भनेको संरचनात्मक हिंसा नभएको अवस्था हो । जहाँ सामाजिक न्याय, समान अवसर, आर्थिक समानता , सम्मानपुर्वक बाँच्न पाउने हक लगायत सुनिश्चित हुन्छ र त्यहाँ मात्र वास्तविक शान्ति सम्भव हुन्छ ।
समाज वा राज्यमा शान्ति स्थापना गर्छु भन्नुको अर्थ हत्या वा युद्धबाट मुक्त हुनु मात्र हुँदैन किनभने पूर्ण शान्ति स्थापानाको लागि नकारात्मक शान्ति मात्र पर्याप्त हुँदैन, दीर्घकालीन र स्थायी शान्तिका लागि सकारात्मक शान्ति आवश्यक पर्छ।
गाल्टुङले यस लेखबाट उठाएको महत्वपूर्ण कुरा संरचनात्मक हिंसालाई सामान्यीकरण गरेर स्वाभाविक बनाइने तरिकाबारे हो । समाजमा जरा गाडेर रहेको गरिबी, असमानता र भेदभावलाई भाग्य, कर्म, मेहनतको कमी वा प्राकृतिक अवस्था आदिको लेपन लगाएर व्याख्या गरिन्छ, जसले संरचनात्मक हिंसालाई नैतिक रूपमा उचित(morally justifiable)भनेर पुष्टि गर्न खोज्छ । यस सँगै त्यसमा सांस्कृतिक हिंसा (Cultural Violence) को पनि भूमिका रहन्छ जसले धर्म, परम्परा, विचारधारा, सँस्कार, जात ,भाषा जस्ता कुरा देखाइ असमानतालाई सही साबित गर्न खोज्छ । यसरी सांस्कृतिक हिंसाले संरचनात्मक हिंसालाई वैधता दिन र औचित्य पुष्टी गर्न खोजिरहन्छ ।
महात्मा गान्धी जसले सत्याग्रह, असहयोग आन्दोलन, चर्खा प्रचार र स्वराज आन्दोलनजस्ता आन्दोलनहरूको नेतृत्व गरेर भारतलाई बेलायती उपनिवेशबाट मुक्त मात्र गरेनन् जातीय भेदभाव, छुवाछुत र सामाजिक अन्यायको विरोध गर्दै सरल जीवन र उच्च विचारको सन्देश पनि दिए । वर्षौंदेखि आफ्नो भाग्य माथि रुँदै गरेको एउटा ठुलो जनसङ्ख्यालाई एउटा अहिंस्रक जनआन्दोलनका लागि तयार गर्नु एउटा चमत्कारी व्यक्तित्वको प्रभाव नै थियो । गान्धीले गरिबी र भोकमरीलाई हिंसाको सबैभन्दा खराब रूप मान्थे । उनको विश्वास थियो कि शोषण, असमानता र धनको केन्द्रीकरणले मानिसको नैतीक बन्धनको उल्लंघन गर्छ र नैतिक र सामाजिक पतन निम्त्याउँछ। गान्धीका लागि, चरम गरिबीलाई सहज मान्ने समाजले युद्ध नभए पनि आफु अहिंसात्मक भएको दाबी गर्न सक्दैन ।
बीपी कोइरालाले आफ्नो राजनीतिक विचार मार्फत् गरिबीलाई अलोकतान्त्रिक र अन्यायपूर्ण शक्ति संरचनाको उपजको रूपमा उल्लेख गरेका छन् । उनले आर्थिक र सामाजिक लोकतन्त्र बिना राजनीतिक लोकतन्त्र अर्थहीन हुने विश्वास गर्थे । चरम गरिबीले व्यक्तिहरूलाई अमानवीय बनाउने, उनीहरूलाई शोषणको जोखिममा पार्ने र त्यसले गर्दा स्वतन्त्रता, मर्यादा र वास्तविक लोकतन्त्रलाई कमजोर बनाउने कुराको वकालत गर्थे। लोकतान्त्रिक समाजवादको उनको दृष्टिकोणले असमानता घटाउने र सामाजिक न्याय सुनिश्चित गर्ने कुरा राज्यको प्राथमिक दायित्व हो भन्ने कुरामा जोड दिन्थ्यो ।
मानिसको सर्वाङ्गीण विकास अथवा जीवनको सम्पूर्ण पक्षलाई छुने यस्तो कुनै संस्कृति छ, तिनलाई समात्नु, प्राप्त गर्नुलाई नै समाजवाद भनिन्छ । समाजवाद कुनै छुट्टै कानुन होइन, छुट्टै आन्दोलन होइन । यो एउटा सांस्कृतिक आन्दोलन हो । समाजवादको मुख्य लक्ष्य नै समानता हो । समानता भनेको राजनीतिक तथा आर्थिक समानता हो ।” व्यक्तिको श्रम, योग्यता, प्रतिभा आदिको सम्मान गर्दै, निजी सम्पत्तिको अधिकार रक्षा गर्ने, विपन्न वर्गलाई समान अवसरको व्यवस्था गर्ने। धर्म, संस्कृति, वर्ग, वर्ण, जाति आदि सामाजिक विविधतालाई उचित सम्मान गर्दै सन्तुलनमा राख्ने । जनताका न्यूनतम आवश्यकता – गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र अन्य कतिपय मानवीय आवश्यकता परिपूर्ति गर्न अवसर जुटाइदिने । न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने । व्यक्तिगत महत्व र अस्तित्वको रक्षा गर्ने। समन्वय, सद्भाव र पारस्परिक हितमा आधारित समाज निर्माण गर्ने आदि प्रमुख आधार हुन्।
( डा. तुलसी भट्टराई, बीपीको प्रजातान्त्रिक समाजवाद, ६ साउन २०७९ गोरखापत्र ।)
बिपीको समाजवादका तीन मुख्य आयाम छन् — समृद्धि बढाउने, असमानता घटाउने र व्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्ने। बिपीको निम्ति समाजवाद भनेको स्वतन्त्रता कुल्चिएर समृद्धि ल्याउने उपाय होइन। समृद्धिका नाममा धनी र गरिबबीच असमानताको खाडल निर्माण गर्नु पनि समाजवाद होइन। समृद्धि, समानता र स्वतन्त्रतालाई सँगसँगै लिएर जानु नै बिपीको समाजवाद हो। उनको जिन्दगीभरको लडाइँ नै यी तीन आयामयुक्त समाजवादको निम्ति थियो।
(आजका दिनमा विपिको समाजवाद के हो?, डा. विश्व पौडेल, २७ मंसिर २०७९, सेतोपाटी )
प्रदिप गिरिले जिवनभर नेता मानेका विपि कोइराला (जो गान्धीबाट असाध्यै प्रभावित थिए), एकाइसौँ शताब्दीका नामी गान्धीवादी भनेर नामै किटेका गाल्टुङ र स्वयम् महात्मा गान्धीको यस विषयमा एकमत देखिन्छ । गरिबी उन्मूलन बिना शान्ति अपूर्ण हुने, गरिबीले सामाजिक र राजनीतिक प्रणालीहरूमा लुकेको हिंसालाई प्रतिनिधित्व गर्ने र यसको उन्मूलन सकारात्मक शान्ति, मानव अधिकार संरक्षण र साँच्चै लोकतान्त्रिक समाजको लागि आवश्यक रहेको एउटै विचार गान्धी, कोइराला र गाल्टुङ तिनैजनाले फरक फरक समयमा प्रस्तुत गरे ।
शान्ति र हिंसासम्बन्धी यो सिद्धान्त वैचारिक रूपमा अत्यन्त प्रभावशाली भए पनि यसमा टिप्पणी गर्न केही ठाउँहरू देखिन्छन्। उनले प्रस्तुत गरेको हिंसाको अवधारणा अत्यन्तै व्यापक र फराकिलो भएकाले गरिबी, असमानता र सामाजिक अन्यायजस्ता सबै समस्यालाई हिंसाको श्रेणीमा राख्दा अवधारणाको स्पष्टतामा कमजोरी हुने देखिन्छ । त्यस्तै संरचनात्मक हिंसामा प्रत्यक्ष दोषी व्यक्ति वा समुह वा समाज वा निकाय स्पष्ट नहुँदा कानुन निर्माण र उत्तरदायित्व निर्धारणका क्रममा जटिलता आउने हुन्छ । यस्तो हिंसा अप्रत्यक्ष र लुकेको हुने भएकाले यसको मापन र मूल्याङ्कन व्यवहारिक रूपमा कठिन हुन्छ । साथै, उनले हिंसाको दोषीको रुपमा सामाजिक संरचनालाई बढी जोड दिई प्रस्तुत गर्दा व्यक्तिगत जिम्मेवारी र नैतिक अडानको भूमिकालाई पर्याप्त ध्यान दिन सकेका छैनन् र संरचनात्मक हिंसाको पूर्ण उन्मूलनमार्फत सकारात्मक शान्ति प्राप्त गर्ने उनको लक्ष्य नेपाल जस्ता विकासोन्मुख समाजहरूको सन्दर्भमा व्यवहारिक भन्दा बढी आदर्शवादी देखिन्छ ।
समग्रमा हेर्दा गाल्टुङको शान्ति र हिंसाको अध्ययनलाई केवल युद्ध र अपराधमा नबाँधी त्यस भन्दा बाहिर समाजमा जरा गाडेर रहेको संरचनागत वास्तविकतासँग जोड्ने तरिकाले वैचारिक आधार प्रदान गर्ने माध्यमको रुपमा लिन सकिन्छ । यसले शान्तिलाई निष्क्रिय अवस्था नभएर सक्रिय सामाजिक प्रक्रियाका रूपमा बुझ्न सहयोग गर्छ ।
त्यस्तै, महात्मा गान्धी, बी.पी. कोइराला र जोन गाल्टुङका विचारहरू फरक सन्दर्भबाट विकसित भए पनि तिनको मूल मर्म मानवता, सामाजिक न्याय र संरचनागत सुधार मा केन्द्रित देखिन्छ। गान्धीले हिंसालाई नैतिक र मानवीय दृष्टिबाट व्याख्या गर्दै शोषण, गरिबी र भोकमरीलाई गम्भीर हिंसाका रूपमा चित्रित गरे । बी.पी. कोइरालाले प्रजातन्त्रलाई केवल राजनीतिक प्रक्रियासम्म सीमित नगरी आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्दै गरिबी र असमानतालाई स्वतन्त्रता र प्रजातन्त्रका लागि मुख्य चुनौती माने । त्यस्तै, गाल्टुङले शान्ति सम्बन्धी अध्ययनलाई आफ्नो लेखमार्फत विस्तार गर्दै अन्याय र असमानतालाई हिंसाको लुकेको अनुहारको रूपका रूपमा चित्रण गरे । उनको अध्ययनको दायराले समाजमा रहिआएको असमानता, शक्ति सन्तुलन र अवसरको वितरणलाई प्रश्न गर्दै शान्ति सम्बन्धी अध्ययनलाई नैतिक चेतना र सामाजिक उत्तरदायित्वसँग जोड्यो ।
गाल्टुङको यस लेखले शान्ति र विकास, मानव अधिकार र सामाजिक न्यायबीचको सम्बन्धलाई स्पष्ट पारेको छ, राज्यसंयन्त्त र नीतिनिर्माताले कुनै पनि निर्णय गर्दा आफ्नो निर्णयको दीर्घकालीन प्रभावबारे सोच्न किन आवश्यक छ भन्ने कुरा यो लेख पढ्दा स्पष्ट बुझिन्छ । यसको व्यवहारिक कार्यान्वयनका सन्दर्भमा चुनौतीहरू अवश्य रहेका भएपनि, गाल्टुङको वैचारिक योगदानले शान्ति अध्ययनलाई आलोचनात्मक, बहुआयामिक र थप बृहत बनाएको छ । यस लेखले शान्तिलाई केवल द्वन्द्वको अन्त्यका रूपमा होइन, समग्र शान्तिलाई पुनर्परिभाषित गर्दै समकालीन कानुन, मानव अधिकार र शान्ति विमर्शका लागि एक बलियो सैद्धान्तिक आधार भने प्रदान गरेको छ ।
About the Authors
Manav Raj Baral
Interested in Constitutional law and public interest litigation law representative, Member of FSU PNC Studious to constitutionalism and democratic value.
View all posts by Manav Raj Baral